धनुषा ४ भदौ ।
धनुषामा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-९ की ५५ वर्षीया रेवती घर्ती मगरको मृत्यु भएको हो ।
गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको विंगरले पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित ग्लोबल होटल अगाडि पैदलयात्री मगरलाई ठक्कर दिएको थियो । विङ्गरको ठक्करबाट गम्भीर घाइते भएकी मगरलाई उपचारको लागि विराटनगर लगिएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।
मगरको शुक्रबार बिहान विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।उनका अनुसार ठक्कर दिने विङ्गर र विङ्गर चालक सिरहाको धनगढीमाइ नगरपालिका-९ का ३५ वर्षीय रंजित लामा प्रहरीको नियन्त्रणमा रहेको छ ।
लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईन्स्पेक्टर सुवेदीले बताए ।