सर्लाहीमा हात्तीपाइलेको औषधि खुवाउन अभियान सुरु ।

सर्लाही १५ फागुन ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम–२०७९ अन्तर्गत सर्लाहीमा बिहीबारबाट २० वटै पालिकामा एकैसाथ औषधि खुवाउने अभियान सुरु गरिएको छ ।

‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरौँ, अशक्त, अपाङ्ग र कुरुप गराउने दिर्घ रोगबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऊ’ भन्ने मूल नारासहित जिल्लाका ११ नगरपालिका र नौँ गाउँपालिकामा एकैसाथ यो अभियान सुरु गरिएको हो । प्रत्येक पालिकामा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, स्वास्थ्यकर्मी, कर्मचारीले सुरुमा औषधि खाएर यो अभियानको सुरुवात गरेका छन् ।

सदरमुकाम मलङ्गवामा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, मलङ्गवा नगरपालिका प्रमुख नागेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नवलकिशोर झाले एकैसाथ औषधि सेवन गरी अभियानको प्रारम्भ गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले सर्लाहीमा दुई वर्ष पूरा भएका आठ लाख जनालाई हात्तीपाइलेको औषधि खुवाउने लक्ष्य रहेको जानकारी दिए ।

उनका अनुसार प्रत्येक स्वास्थ्य संस्था, बस्ती, विद्यालय र घरघरमै पनि पुगी स्वास्थ्यकर्मीले हात्तीपाइलेको औषधि खुवाउने छन् । सरकारले बिहीबारदेखि सर्लाहीसहित देशका १५ जिल्लामा हात्तीपाइलेको औषधि खुवाउन सुरु गरेको हो ।

हात्तीपाइलेको लक्षण देखिएपछि औषधि खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधि खान डाक्टरको सुझाव छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि छ वर्षसम्म लगातार वर्षमा एक पटक गरी छ पटकसम्म खानु पर्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा रोग देखा पर्ने गरेको छ ।

धेरैलाई यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ । डाक्टरले केही व्यक्तिलाई ज्वरो आउने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन् ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु हुँदैन् । हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो ।

यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

लोकप्रिय