रौतहट, २१ फाल्गुन ।
रौतहटको वृन्दावन नगरपालिकाले वडा कार्यालयहरुबाट नै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।
ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न निकै समस्या हुने भएपछि वृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको हो ।
नगरपालिकाभित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको नगर प्रमुख विनोद प्रसाद कुर्मीले बताएका छन् ।
बैंक टाढा रहेको कारण टाढाको वडाबाट बैंकमा भत्ता लिन आउन–जान ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्त भएकाहरुले निकै सास्ती खेप्दै आएको अवस्थालाई मध्य नजर गरी गाउँघरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याएको नगर प्रमुख कुर्मीले बताए ।
भत्ता वितरणका लागि नगरपालिकाको प्रत्येक वडामा बैंक र पालिकाका कर्मचारी खटाइएको उनले बताए । वृन्दावन नगर प्रमुख कुर्मीले जिल्लामै पहिलो पटक आम नागरिकको सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेका हुन ।
सामाजिक सुरक्षा भत्ता वडामै पाउँदा धेरैलाई राहत मिलेको बताउँदै नगर प्रमुख कुर्मीले नगरपालिकामा लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लाईनमा बसी लिनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिकहरु निकै उत्साहित बनेका छन् ।
बैंकमा सेवाग्राहीको अत्याधिक भिडका कारण सामाजिक सुरक्षा भत्ता पाउन ज्येष्ठ नागरिकहरु यसअघि घण्टौसम्म लाइन बस्न बाध्य थिए तर पालिकाले वडा कार्यालयबाटै भत्ता दिन थालेपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो ।
गाउँमै भत्ता पाएपछि आफूहरु खुशी भएको वृन्दावन नगरपालिका–२ का ७५ वर्षिय रविन्द्र बैठाले बताए । बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता बुझ्दै आएका वडा नं ६ का ७२ बर्षीया धुनिया देवीले पहिलो पटक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै खुसी लागेको बताइन् ।
त्यसैगरी, वृन्दावन नगरपालिका–२ की ७० बर्षीया समतोलिया देवी पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउँछिन् । ‘भत्ता बुझ्नका लागि घण्टौ हिँडेर बैंकमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै निकै समस्या हुन्थ्यो’, उनले भनिन्, ‘अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्।’
उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ । वडाबाटै भत्ता वितरण कार्यको थाल्नी गर्ने नगर प्रमुख विनोद प्रसाद कुर्मीको यो कदमको सर्वत्र प्रशंसा भइरहेको छ ।