रौतहट, ६ चैत ।
राैतहटकाे बृन्दावन नगरपालिकाले सुचनाकाे हक बमाेजिम प्रमाणित प्रतिलिपि विवरण नदिने भएकाे छ ।
गत २०७९ फागुन १२ गते नै सूचनाको हक बमोजिम प्रमाणित प्रतिलिपि पाउँ भनी राजनैतिक दलका व्यक्ति र वडाअध्यक्ष समेतले माग गरेको विवरणका नगर प्रमुखले नदिने जनाएकाे छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत २०७९ /०३ /०६ मा हाजिर भएपछि हालको विवरण माग गर्नु र अगाडीको विवरण आफ्नै निवेदक पूर्व मेयर रामस्नेही यादवको कार्यकालको नि.प्रमुख प्रशासकीय अधिकृतको भएकोले पूर्वाग्रहका साथ माग नगर्नु वेमनासिव देखिएको विज्ञप्ति मार्फत नगरपालिकाले जनाएकाे छ ।
नगर प्रमुख कुर्मीले सूचनाको हक सम्बन्धी कानूनले व्यवस्था गरे बमोजिम समयक्रममा दिनु पर्ने सूचनाको विषयमा भने संवेदनशील र प्रतिवद्ध रहेको बताउनु भएकाे छ । छैठौँ नगरसभाको बन्दसत्र २०७९ आषाढ ११ गते नेपाल मा.वि. को सभा हलमा वार्षिक कार्यक्रम तथा बजेट बारे छलफल गर्न नदिन हुल हुज्जत, ढुंगामुढा गर्ने तथा २०७९ आषाढ २५ गतेको बन्द सत्रमा कार्यक्रम तथा बजेट पारित गर्ने विषयमा अनुपस्थित हुने व्यक्तिहरु नै अहिले सूचनाको हक भनी प्रमाणित कागजात माग गर्नु पूर्वाग्रहबाट प्रेरित वाहेक अरु हुनै नसक्ने नगरपालिकाकाे दावी रहेकाे छ ।
२०७९ माघ २५ गतेसम्म नगर कार्यपालिकाको बैठकसम्म आइपुग्दा वेला वेलाका अवरोध छिचोल्दै आएको र २०७९ माघ २६ गते RDC Nepal को प्राविधिक सहयोगमा पहिलो पटक सामाजिक परीक्षण गरिएबाट विगतमा गुमराह पूर्वक काम गरेका अराजक तत्वहरुले नगरपालिकाबाट भए गरेका कार्यहरुको जवाफदेहिता र उत्तरदायी वहन गर्न खोजिएको जनाउदै नगरपालिकाको विकास र समृद्धिलाई रोक्न अनेकाै वहाना निकालिएको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
बागमती नदीको ढुंगा, गिट्टी, बालुवा निकासीको राजश्व उठाउन २०७९ भाद्रमा प्रकाशित सूचनाबाट ठेक्का नलागेपछि स्थायी कर्मचारीलाई जिम्मा दिई अमानतमा राजश्व उठाउन लगाइकोमा विगतमा नगर कार्यपालिकाले २०७४/०७/१४ गतेको निर्णय नं. २ बाट ठेक्का नलागेसम्म अमानतबाट राजश्व असुली गर्ने निर्णय भएकाे र साेही अनुसार यस ठेक्का नलागेसम्मका लागि कर्मचारी खटाइएको नगरपालिकाे दावी रहेकाे छ । हालसम्म ठेक्का नलगाइएकाे सोको विवरण ठेक्का लागेपछि जानकारी गराउने नगरपालिकाे विज्ञप्तिमा बताइएकाे छ ।
साेही क्रममा २०७९ माघ २७ र २८ गते राजश्व असुल गर्ने कर्मचारी र स्थलमाथि आक्रमण गरी ज्यान मार्न खोज्ने तथा सरकारी कागजात कब्जा गर्ने जस्ता हर्कत अमुक राजनैतिक दलको नेतृत्वमा हुनुले अत्यन्त खेदजनक कार्य भई समयमा सुरक्षा निकायको निगरानी नपुग्नुले दुःखद स्थिति सृजना गरेको समेत जनाइएकाे छ । हाल करारमा कर्मचारी नियुक्ति नगरिएको र केही अत्यावश्यक सहयोगी र चालक कर्मचारीलाई डोर हाजरीमा लगाई कामकाज गराइएको जनाइएकाे छ ।
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई सम्बोधन गरी माग गरिएको विभिन्न विवरण समय क्रममा विभिन्न कार्यक्रमबाट सार्वजनिक गरिने र हाल प्रक्रियागत रुपमै रहेको अवस्था भएकोले कार्य सम्पन्न पश्चात जानकारी गराइने प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबैमा सूचना जनरी गरिएकाे नगरपालिकाले जनाएकाे छ । नगरपालिकाले सुचनाकाे हकलाई बेवास्ता गरेकाे भन्दै वृन्दावन नगरपालिकाको नगर प्रमुख सहितका पदाधिकारीहरु माथि ढुंगामुढा गर्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको थियाे ।
नगरपालिका भित्र रहेका विभिन्न विषयलाई लिएर बसेको कार्यपालिका बैठक बिना निष्कर्ष स्थगीत गरेर मेयर विनोद कुर्मी, उपमेयर, वडाध्यक्षहरु कार्यालयबाट बाहिरीने क्रममा विरोध गर्दै आएका ४ जना वडाध्यक्ष सहितका समर्थकहरुले घेरा हालेर ढुंगामुढा गर्न खोज्दा सुरक्षामा तैनाथ रहेका सुरक्षाकर्मीहरु निकै सम्झाई बुझाई गर्दा पनि उनीहरु नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गर्दै एक राउण्ड टियर ग्यास फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामतीले जानकारी दिनु भयाे ।
आईतवार दिउसो ४ बजेको समय कार्यपालिकामा सहमती नभएर अर्का सुचना सम्मको लागि स्थगीत भएर उनीहरु बाहिर निस्कने क्रम घटना भएपछि प्रहरी निकै संयमता अपनाउदै कुनै अप्रिय घटना हुन नदिई अवस्थालाई सामान्य बनाएको डिएसपी कामतीले बताउनु भयाे ।