गरुडा नगरपालिकाको मेयर प्रत्यासी दिपकद्वारा आमरण अनशन ।

अरविन्द कुमार यादव
रौतहट ८ चैत्र।

रौतहटको गरुडा नगरपालिका सित मांग गरेको सुचना नदिएको भन्दै नगर प्रमुख प्रत्यासी उमेदवार दिपक यादव आमरण अनशन बसेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी तर्फबाट मेयर प्रत्यासी दिपक यादवले १२ बुंदे माग सहित अनशन बसिरहेका र दोस्रो स्थानीय तह निर्वाचन २०७९ मा कन्थमणी प्रसाद जयसवाल संग पराजित भएका थिए।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धी, बिजुलीबत्ती र इन्टरनेट जडानमा भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण र उपलब्धिहरु, करारका कर्मचारीहरुको नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि, तलब, पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रिया सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने यादवले अडान राखेका हुन्।

नगर तथा वर्डा स्तरीय विकास निर्माणकार्यको सबै योजनाको विवरण र भुक्तानीका कागजपत्र , दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि, अचेल खर्च रकमको शीर्षक सहितको मासिक विवरण, नगर सभाहरुको निर्णयको प्रतिलिपि, कोरोना पीडितहरुलाई दिएको रकमको विवरण, नगरपालिकाको नाममा रहेका सम्पूर्ण बैंक खाताहरुको विवरण सार्वजनिक गर्नुपर्ने उनको माग हो । यस्तै गरुडा चिनी मिलको प्रांगणमा नगरप्रमुख को रोहवरमा सार्वजनिक सुनवाइ कार्यक्रम गरिनुपर्ने माग पनि उनको पहिलो प्राथमिकतामा रहेको छ।

निरजल यही चैत्र ५ गते आइतबारका दिन देखि अनसनमा बसेका यादवको स्वास्थ्य अवस्था जटिल हुदै गएको देखिन्छ । गरुडा अस्पतालका स्वास्थ्यकर्मीले आमरण स्थलमै सलाइन पानी चढाएर उपचार गरेका छन् ।जनतासंग प्रत्यक्ष सरोकार राख्ने मुद्दालाई लिएर धर्नामा बसेको यादवले बताए ।अनसनमा बसेका यादवसँग मंगलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले भेटघाट गरि कार्यपालिकाको आकस्मिक बैठक डाकिएको छ । बैठकमा अनसनकारी यादवको
माग गरिएको सुचना सम्बोधन गर्ने सम्बन्धि छलफल भइरहेको उनले बताएका हुन् ।

‘उहाँले एक पटक सूचना हक अन्तर्गत निवेदन दिएर सूचना माग गर्नुभएको थियो, हामीले तीन दिन भित्रै दिएका पनि हौं’, उनले भने, ‘पछि दोस्रो निवेदन ल्याउनुभयो, सूचनाहरु संकलन गर्दै थियौं, अनसनमा बस्नुभयो । माग पुरा गर्नका लागि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न आकस्मिक कार्यपालिका बैठक बसिरहेको छ ।’

सूचनाको हक सम्बन्धी ऐन २०७४ को दफा ७ अनुसार माग गरिएको सूचना १५ दिनभित्र दिन सक्ने व्यवस्था रहेको र सोही अनुसार तयारी भइरहेको उनको भनाइ छ । मेयरको उपस्थितिमा सार्वजनिक सुनुवाइ हुनुपर्ने भन्ने माग सम्बोधनका लागि कार्यपालिका बैठकले मिति र स्थान तोक्ने उनले बताए ।

लोकप्रिय