जनकपुर ९ जेठ ।
जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकार विस्तार गरिएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिएको डेढ महिनापछि आज नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)सहित सरकार विस्तार गरिएको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा कांग्रेसबाट प्रदेश संसदीय दलका नेता कृष्ण यादव र वीरेन्द्रप्रसाद सिहं तथा एकीकृत समाजवादीबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने सरकारमा नयाँ जिम्मेवारीसहित सहभागी थिए ।
कांग्रेसका यादव भौतिक पूर्वाधार तथा विकास, सिंह स्वास्थ्य तथा जनसङ्ख्या र समाजवादीका न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आज मधेश भवनमा आयोजित एक विशेष समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष तीनै जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए।