यमुनामाई गाउँपालिकाको ७ औं गाउँसभा अधिवेशन बुधबार सम्पन्न।

रौतहट १७ असाेज ।

रौतहटको यमुनामाई गाउँपालिकाको ७ औं गाउँसभा अधिवेशन बुधबार सम्पन्न भएको छ ।  

राजनीतिक दलका निर्वाचित जनप्रतिनिधिको असन्तुष्टिका कारण असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम ल्याउन नसकेको गाउँपालिकाले केहि जनप्रतिनिधिको असन्तुष्टिकाबीच गाउँसभा सम्पन्न गरेको हो । गाउँसभा नभएको कारण कर्मचारीको तलब रोकिएकोले पर्वको समय नजिक बहुमतको आधारमा गाउँ सभा सम्पन्न गरिएको हो । 

गाउँपालिका अध्यक्ष मोहमद साउदले गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँ सभा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थतिमा भएको अधिवेशनमा गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकाशमा जोड दिइएको छ । 

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि १५ शय्या प्राथमिक स्वास्थ्य केन्द्रको लागि जग्गा खरिद तथा व्यवस्थापन गरिने उल्लेख गरिएको छ । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा सञ्चालन गरिने जोड दिइएको छ । माध्यमिक शिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने, बेरोजगारी समस्या समाधान गर्नको लागि एक घर एक रोजगारको नीति अवलम्बन गरिने लक्ष्य लिइएको छ । पूर्वाधार विकासतर्फ सडक विस्तार,चौडाकरण अभियान सञ्चालन, नाला निर्माण, विद्युतीकरण कार्यलाई प्राथमिकतामा राखिएको छ । 

गाउँसभामा उपाध्यक्ष अनुराधा कुमारी, प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार महतो, लेखापाल श्रीनारायण झा, स्टोर किपर सुरेन्द्र यादव, ई नितेश कुमार सिंह लगायतका गाउँपालिकाका कर्मचारी, वडा अध्यक्ष नन्दलाल यादव, सीताराम यादव, शेख सगिर लगायत वडा सदस्य, कार्यपालिका सदस्यहरुको उपस्थति रहेको थियो । गाउँसभा बन्द कोठामा प्रहरीको बलमा गरेको भन्दै वडा अध्यक्ष अश्विनी यादवसहित केहि कार्यपालिका सदस्यले असहमति जनाएका थिए ।

लोकप्रिय