रौतहट २५ पुष ।
रौतहटको माधवनारायण नगरपालिकाका बाढीबाट प्रभावित भएका विद्यालयका विद्यार्थीहरुलाई विद्यालय शैक्षिक सामग्री वितरण गरिएको छ।
गत साउनमा अविरल वर्षासंग आएको बाढीले प्रभावित भएका माधवनारायण नगरपालिका -६ माधोपुर, वडा नं ८ रजवडा र वडा नं ९ गढोमा रहेको सामुदायिक विद्यालयका हजारौं विद्यार्थीहरुलाई बिहीवार शैक्षिक सामग्री वितरण गरिएको हो।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले बिहीवार बाढी तथा डुबानको चपेटामा परेका विद्यालयका बाल बालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
वर्ल्ड भिजन र आरडीसी नेपालले उपलब्ध गराएको उक्त सामग्री मेयर यादवले विद्यार्थीहरुलाई प्रदान गरेका छन्।
माध्यमिक विद्यालय माधोपुरका ८ सय १७, माध्यमिक विद्यालय रजवडाका ३ सय र माध्यमिक विद्यालय गढोका १ सय ५० गरी १ हजार २ सय ६७ जना बाल बालिकालाई शैक्षिक सामग्री वितरण गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए।
प्रत्येक बालबालिकालाई एक एक थान स्कूल ब्याग, कापी १२ वटा, कलम १० वटा लगाएतका सामग्री उपलब्ध गराएको उनले बताए।
शैक्षिक सामग्री वितरणले विद्यालयको पहुंच भन्दा बाहिर रहेका बालबालिका विद्यालय आउने तथा विद्यालय आइरहेका बालबालिका पढाइ प्रति अझै आकर्षित हुने उदेश्यले आफूले उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएको मेयर यादवको भनाइ छ।
त्यस्तै मेयर यादवले बिहीवार नै छुट्टै कार्यक्रम बीच माधव नारायण नगरपालिका -८ पिप्रा रजवडाकी ८५ जना गर्भवती महिलालाई स्वास्थ्य, खाद्यान्न र न्यानो कपडा पनि वितरण गरेका हुन्।
मेयर बैजनाथ प्रसाद यादवले अति गरिव तथा विपन्न परिवारका गर्भवती महिलाहरुलाई अहिले बढ्दै गरेको चिसोबाट जोगाउन प्रति महिला एक एक थान ओढ्ने सिरक, खाद्यान्न र विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्।