रौतहट २९ पुष ।
रौतहटको माधवनारायण नगरपालिका –६ माध्यमिक विद्यालय माधोपुरमा सोमबारदेखि खेलकुद सप्ताह सुरु भएको छ। खेल सप्ताह एक सातासम्म चल्ने छ।खेलकुद सप्ताहको माधवनारायण नगर प्रमुख बैजनाथप्रसाद यादव र वडा अध्यक्ष रामनरेश रायले संयुक्त रूपमा उद्घाटन गरेका छन्। विद्यालयको प्राङ्गणमा आयोजित एक भव्य कार्यक्रमका बीच उक्त सप्ताहको उद्घाटन गरिएको हो।खेलकुद सप्ताह अन्तर्गत फुटवल,भलिवल,कवडी,लुडो,क्यारम बोर्ड,चकलेट,हाइजम्प,लङ्गजम्प,दौड,जम्प,ब्रष्ट पार्टन लगायतका झण्डै एक दर्जन प्रतियोगिताहरु चल्ने विद्यालयका प्रधानाध्यापक राम सिंहासन यादवले जनाए। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सरस्वती पूजाको दिन मेडल,अन्य पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिने प्रधानाध्यापक यादवले बताए। विद्यार्थीहरुलाई खेलकुद प्रति आकर्षित गर्ने र खेलकुदको विकास गरी खेलकुदको माध्यमले पनि देशको विकासमा योगदान पु¥याउने उद्देश्यले खेलकुद सप्ताहको आयोजना गरिएको प्रधानाध्यापक यादवले जनाए।
लगभग विभिन्न कक्षाका ४० जना विद्यार्थीहरू सोमबार सहभागी भएका थिए। खेलहरूमा ३ देखि ३ सय ५० जनासम्म विद्यार्थी सहभागी हुने विद्यालयले जनाएको छ।
खेलकुद सप्ताहको उद्घाटन गर्दै माधवनारायण नगर प्रमुख यादवले विद्यालय खेलकुदलाई जोड दिन सकेको खण्डमा मात्र राष्ट्रका लागि स्तरीय खेलाडी उत्पादन गर्न सकिने धारणा राखेका थिए।
उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजका अगुवा,बुद्धिजीवी,समाजसेवी लगायतको सहभागिता रहेको थियो।